काठमाडौं । वर्तमान सरकारप्रति जनताबाट उत्कट आशा र भरोसा जागृत भएको देखिएको छ । यसको पुष्टि हेल्लो सरकारमा आएको गुनासा र यसको सम्बोधनबाट भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक सय दिनमा जनताबाट साढे ४१ हजार गुनासा आएका छन् । २०८२ साल चैत १३ देखि २०८३ असार १८ गतेसम्म ४१ हजार ५५४ गुनासो जनताले हेलो सरकारलाई टिपाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव एवं हेलो सरकारका प्रमुख कृष्ण सापकोटाका अनुसार हेलो सरकारमा यसअघि वार्षिक रूपमा १६ हजारको हाराहारीमा गुनासा जनताबाट आउँथे । त्यसको सम्बोधन पनि थोरै हुन्थ्यो ।
उनका अनुसार नयाँ सरकार गठनपछि एक सय दिन अर्थात् तीन महिनामा ४१ हजार ५५४ गुनासा जनताबाट आए । गुनासा झन्डै तीन वर्षजत्तिको तीन महिनामै प्राप्त भएका छन् ।
आर्थिक वर्ष २०८०।८१ मा कुल ११ हजार ९३२ गुनासो र आर्थिक २०८१।८२ मा १७ हजार ९६६ गुनासा आएको थियो । यो सरकार गठनपछि जनताका अपेक्षा बढेकाले गुनासाको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हुन सक्ने जानकारको भनाई छ ।
एक सय दिनमा आएका गुनासामध्ये १३ हजार २० पूर्ण रूपमा फस्र्योट भएको छ । हेलो सरकारले गुनासो सम्बोधन भएको वा नभएको डिजिटल रूपमा हेरेर अनुगमन गर्ने गरिएको छ ।
यसरी आएको गुनासामध्ये सम्बन्धित निकायबाट सम्बोधन भएको हेलो सरकारबाट समाधान हुन बाँकी तीन हजार २५ गुनासो मात्र छन् ।
हेलो सरकारले ११७ शीर्षकमा गुनासो टिपोट गर्छ । जसमध्ये विद्युत्सँग सम्बन्धित, सडक, पुलपुलेसा र स्थानीय तहसँग सम्बन्धित गुनासो बढी पाइएको उपसचिव सापकोटाले जानकारी दिनुभयो ।
जनताले नागरिक एप, हटलाइन नम्बर, फोन नम्बर, फेसबुक, एक्स, भाइबर, इमेल, चिठ्ठीपत्रलगायतबाट गुनासो गर्ने व्यवस्था गरिएको छ । सरकार गठन भएको एक सय दिनमा यी दस निकायमा बढी गुनासो आएका छन् ।