काठमाडौं। सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाको एक वडामा एक युवकले आगजनी गरेका छन्। कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरेका हुन्।
वीरेन्द्रनगर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरिएको हो। प्रहरीका अनुसार वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने हुन्। आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए।
वडाध्यक्ष सुनारका अनुसार बुधार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको हो। उनका अनुसार करिब १०:०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन गरेर ति युवकले कार्यालयमा नभएको भन्दै कार्यालय जलाइदिने धम्की दिएका थिए।
उनको काम गरिदिन कर्मचारीलाई भनेको भएपनि आफुलाई धम्की आएकै १० मिनेटमै कार्यालयमा आगो लगाइएको खबर आएको उनले बताए। प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन। उनको खोजी भैरहेको प्रहरीले जनाएको छ।