काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले महाविधेशनसँग सम्बन्धित विभिन्न चार निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न यस्तो निर्णय गरेको जनाएको छ ।
यि हुन बैठकको निर्णय
१. नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने लक्ष्य लिएको छ । साथै, निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन अर्थात पेपरलेस प्रविधि वा इ.भि. एम. प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाउने निर्णय गर्दछ ।
२. निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय गर्दछ ।
३. निर्वाचन कार्यमा काठमाडौं उपत्यकाभित्र रहेका काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत, त्यसैगरी उक्त जिल्लाहरु अन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र तथा महानगरपालिका एवं नगरपालिकाहरुमा महिला कानुन व्यवसायीहरुलाई निर्वाचन अधिकृतको रुपमा प्राथमिकताका साथ खटाइने निर्णय गर्दछ ।
४. निर्वाचन कार्यमा स्वयंसेवकको रुपमा सहयोग गर्न कानुन व्यवसायी तथा अन्य पेशागत समुहलाई आह्वान गरी रोष्टर तयार गर्ने र रोस्टरमा रहेका व्यक्तिहरुलाई अभिमुखीकरण (Orientation) कार्यक्रममा संलग्न गराई निर्वाचन अधिकृतको रुपमा खटाउने निर्णय गर्दछ ।
राजु कटुवाल
सदस्य सचिव