अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रससद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार रुपियाँ बिगो कायम गेर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । गुप्ताले पदीय मर्यादा विपरित काम गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्ने विषयमा उजुरी परेपछि आयोगले अनुसन्धान गरेका थियो । अनुसन्धानको क्रममा आयोगले गुप्ताको बैध आम्दानी र खर्चको विवरणको तुलना गरेको थियो ।
यसरी तुलना गर्दा गुप्ताले ३ करोड ५१ लाख ५२ हजार रुपियाँ बैधानिक रुपमा आम्दानी गरेको देखिएको थियो । तर उनको आम्दानी र खर्चको हिसाब गर्दा गुप्ताको नाममा ६ करोड ९७ लाख ८१ हजार रुपियाँ देखिएको आयोगले जनाएको छ ।
कुल आम्दानी र उनीसँग भएको सम्पत्तिको हिसाब गर्दा गुप्ताले तीन करोड ४५ लाख ९९ हजार रुपिया अवैध रुपमा कमाएको देखिएको छ । आयोगले उनलाई सोही रकम बराबर बिगो कायम गरेर भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको छ ।
साथै, आयोगले गुप्ताका बाबु बंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरु शारदा आचार्य गुप्ता र शुलोचना गुप्तालाई पनि विगो जफत प्रयोजनको लागि प्रतिवादी कायम गरेको छ ।