काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले नेपाल सरकारलाई सन् २०२९ सम्म दुई अर्ब ४० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री बालेन शाहसँगको भेट पछि मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मासातोले उक्त रकम बराबरको सहयोग गर्ने बताएका हुन्। उक्त रकम नेपाली रुपैयाँअनुसार ३ खर्ब ६२ अर्ब भन्दा बढी हुन्छ।
‘
उनले यो सहयोगले प्रधानमन्त्रीको भिजनलाई व्यवहारमा उतार्न र त्यसको प्रतिफल जनतासम्म पुर्याउन मद्दत गर्ने पनि बताए। यस रकममा कति सहुलियतपूर्ण ऋण, कति अनुदान हो भन्ने खुलाइएको छैन।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार दुई जनाबीच आधा घण्टा शिष्टाचार भेट भएको हो। प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेको दाहालले बताइन्।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरूदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको पनि उनले बताइन्। प्रधानमन्त्री शाहले विदेशी निकायका अधिकारीसँग पहिलो पटक एक्ला एक्लै भेटेका हुन्।