ललितपुर । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
नेपाल कृषि अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएका वैज्ञानिकलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरिन्।
उनले भनिन्, “नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ। विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता र संरचनागत समस्याका कारण आफ्नो अस्तित्वकै परीक्षाको घडीमा गुज्रिएको छ।
मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकेको छैन। हाम्रो राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र हो। सुधारका लागि तिमीहरूजस्ता वैज्ञानिकको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ।”
मन्त्री चौधरीले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने जानकारी दिँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको बताइन्। इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने उनको भनाइ थियो।
नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डा. श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि, आर्थिक अनुशासन तथा अध्ययन–अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण सञ्चालन हुने जानकारी दिए। उनले वैज्ञानिकहरूले किसानसँग रहेको वर्षौँदेखिको अनुभव र अनुभूतिलाई आत्मसात् गर्दै आफ्ना वैज्ञानिक ज्ञानका आधारमा नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राखे।
नार्कले नवनियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँचदिने अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।