आइतवार, श्रावण २४ गते २०८३

‘जिरे खुर्सानी दरबार’लाई  २ लाख ५ हजार जरिवाना

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असुरक्षित तरिकाले ढुवानी गरिएको मासु प्रयोग गरी परिकार तयार गरेको उजुरीका आधारमा गरिएको संयुक्त अनुगमनपछि काठमाडौंको मध्यपुर थिमिस्थित जिरे खुर्सानी दरबारलाई रु २ लाख ५ हजार जरिवाना गरेको छ।

विभागका परेको उजुरीमाथि कारबाहीका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त व्यवसायमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा कुखुराको करिब १४५.२ केजी काँचो मासु, ५.५० केजी तन्दुरी काँचो मासु तथा स्रोत नखुलेको करिब १८० केजी मासु बिक्री–वितरण र परिकार बनाउन रोक्का गरिएको थियो। साथै मासुको नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त मासुमा मानव स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणुको उपस्थिति पुष्टि भएपछि विभागले पुनः अनुगमन गरी रोक्का गरिएको सम्पूर्ण मासु मानव उपभोगका लागि असुरक्षित ठहर गर्दै नष्ट गरेको जनाएको छ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै  जिरे खुर्सानी दरबारलाई  २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।

विभागले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खाद्यजन्य गतिविधिमाथि नियमित अनुगमनलाई निरन्तरता दिइने तथा खाद्य व्यवसायीलाई कानुनअनुसार सुरक्षित र गुणस्तरीय खाद्य वस्तुको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार