आइतवार, श्रावण २४ गते २०८३

समस्यामा संविधान संशोधन बहसपत्र तयारी कार्यदल,पत्र लेखेर एमाले पनि बाहिरियो

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । संविधान संशोधन बहसपत्र तयारी कार्यदल समस्यामा परेको छ । कार्यदलमा सदस्य रहेका दलहरु एकपछि अर्को गर्दै बाहिरीएपछि अब के गर्ने भन्ने विषयमा कार्यदल अलमलमा परेको छ । कार्यदलबाट विहिबार नेकपा एमाले पनि बाहिरिएको छ।

बिहीबार कार्यदलका संयोजक अशिम शाहलाई पत्र लेख्दै एमालेका महासचिव शंकर पोखरेलले बाहिरिएको जानकारी दिएका हुन्। एमालेबाट उक्त कार्यदलमा भीष्म अधिकारी सहभागी भएका थिए। सुरूका दिनमा उनी सहभागी भए पनि पछिल्लो समय अनुपस्थित रहँदै आएको महासचिव पोखरेलले उक्त पत्रमा उल्लेख गरेका छन्। 

‘वर्तमान संविधानका आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमि कमजोरीलाई सुधार गर्ने उद्देश्यले संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ रहेकोमा त्यस विपरीत विषयहरू नै खल्बल्याउने उद्देश्य राखेर कार्यदल सहभागी रहेको हाम्रो पार्टी तत् तत् समयदेखि अनुपस्थित रहँदै आएको छ,’ पत्रमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु।’

कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, संविधानको संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको बताउँदै त्यसबारे एमालेले जबाफ माग गरेको थियो।

‘कार्यदलको काम कारबाही सुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयमा किटान नगरिएको, वर्तमान संविधानका आधारभुत संरचनाप्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लाग बहसमा ल्याइएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएका जस्ता कारणले तत् सम्बन्धमा सरकारको भूमिका स्पष्ट गर्न माग गर्नुभएको सर्वविदितै छ,’ पत्रमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार