सोमवार, श्रावण २५ गते २०८३

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु, उजुरी आह्वान

बिहिवार , आषाढ २५, २०८३

काठमाडौ। प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषदबाट सिफारिस गरिएका उम्मेदवारको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। 

परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरेको छ।

समितिले प्रस्तावित तीनै जनाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ। समितिका सभापति वोधनारायण श्रेष्ठले साउन ४ गतेसम्म उजुरी दर्ता गर्न सकिने जानकारी दिए । 

उनका अनुसार साउन ५ गते उजुरी खोलिनेछ भने साउन ५ र ६ गते उजुरीमाथि अध्ययन गरिनेछ। त्यसपछि साउन ७ गतेदेखि सुनुवाइ सुरु गर्ने कार्यतालिका तय गरिएको छ। 

समितिले उजुरी आह्वानसम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम तथा सङ्घीय संसद्को आधिकारिक विद्युतीय माध्यममार्फत प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिएको छ।

उजुरीकर्ताले आफैं उपस्थित भई आफ्नो उजुरीबारे जानकारी गराउनुपर्नेछ। असक्त वा अपाङ्गता भएका व्यक्तिले भने एक जना सहयोगी साथमा लैजान पाउने व्यवस्था गरिएको छ।

प्राप्त उजुरीमाथि छलफल र सुनुवाइ सम्पन्न भएपछि समितिले प्रस्तावित नाम अनुमोदन गरेमा संवैधानिक व्यवस्थाअनुसार नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि तीन जनाको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार