आइतवार, श्रावण २४ गते २०८३

सुकुमवासीको बिचल्ली–होल्डिङ सेन्टर जलमग्न

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । वाग्मती नदीमा आएको  बाढीले शुक्रबार राति कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर निमेषभरमै जलमग्न बनाइदियो । लगातारको वर्षाले नदीको बहाब बढेपछि रातको एक बजेतिर होल्डिङ सेन्टरभित्र पानी पस्न सुरु गरेको थियो ।

हेर्दाहेर्दै पानीको सतह माथिसम्म आइपुग्यो, जसका कारण त्यहाँ आश्रय लिइरहेका १५४ जना सुकुमवासीको बिचल्ली भयो । रातको समयमा ज्यान जोगाउनु कि सरसामान निकाल्नु सुकुमवासी अन्योलमा रहे ।

केही समयमा डुंगासहित प्रहरीको टोली त्यहाँ पुग्यो । सुकुमवासीका छटपटीबीच सुरक्षाकर्मीको संयुक्त टोलीले ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरको स्मृति भवनमा सार्‍यो ।

तर, धेरैको बन्दोबस्तीका सामान, अन्नपात र लुगा कपडा बाढीमै डुबे । कतिपय आफन्त कहाँ शरण लिन पुगेका छन् भने कतिपय अहिले पनि सेन्टरकै आसपासमा ओत लागेर बसिरहेका छन् ।

बाढीले जलमग्न भएको त्यो क्षेत्र अहिले लेदो र हिलाम्मेमा परिणत भएको छ । जताततै हिलो र गन्ध फैलिएको छ । तर पनि आकाश शान्त छैन । लगातार पानी परिरहेकाले नदी फेरि उर्लेर आउने हो कि भन्ने त्रासमै सुकुमवासी छन् ।

तर, उपाय के नै छ र थापाथली, गैरीगाउँ लगायतका सुकुमवासीबाट जेनतेन जोगाएर ल्याएका सामान फेरी नष्ट भए । त्यसमै पनि केही अझै जोगाउन सकिन्छ कि भनेर उनीहरू प्रयासरत देखिन्छन् ।

हिलोमा पुरिएका, भिजेका आफ्ना सरसामानहरू खोतलेर निकाल्ने प्रयास गरिरहेका छन् । कोही भने आफ्ना सबै पुरेका सरसामान हेर्दै टोलाएर बसिरहेका छन् । होल्डिङ सेन्टर डुबेसँगै उनीहरू थप अन्योल र चिन्तामा छन् ।

पहिले राज्यको डोजर र अहिले प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको भन्दै कतिपय सुकुमवासी आक्रोशित पनि सुनिन्छन् । सरकारले आफूहरूमाथि अपराध गरिरहेको बताउँछन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार