काठमाडौँ । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन थालिएको छ । सोमबार बिहानैदेखि अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरिएको छ ।
अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । केही संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सक लगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएका थिए। त्यसलगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो, जसको म्याद सोमबार सकिएको छ । म्याद सकिएसँगै एकाबिहानैदेखि डोजर परिचालन गरिएको हो ।
अस्पतालको जग्गामा बनाइएका भवन भत्काउँदा मानवीय सेवामा सञ्चालनमा रहेका रेडक्रस र क्षयरोग निवारण संस्थाहरूलाई भने समस्या परेको छ । रेडक्रसको भवनमा रक्त सञ्चार सेवा समेत सञ्चालनमा रहेको थियो ।