काठमाडौँ । लामो समयदेखि बन्द रहेको तथा पटक–पटक सञ्चालन गर्ने घोषणा भए पनि कार्यान्वयन हुन नसकेको हेटौंडा कपडा उद्योगलाई सरकारले दीर्घकालीन रूपमा पुनः सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनको तयारी अघि बढाएको छ।
तत्काल परीक्षण उत्पादन सुरु गर्ने र त्यसपछि रणनीतिक योजनाअनुसार पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने स्पष्ट कार्यदिशासहितको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई अध्ययन कार्यदलले हस्तान्तरण गरेको छ।
उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले औपचारिक रूपमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन सार्वजनिक हुनुअघि नै अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार नेपाली सेनाले उद्योगका मेसिन मर्मत तथा परीक्षण उत्पादनको तयारी सुरु गरिसकेको छ।
प्रतिवेदनअनुसार सरकारले दिएको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। सोही लक्ष्य पूरा गर्न आवश्यक तयारी तीव्र रूपमा भइरहेको उल्लेख गरिएको छ।
उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। उक्त बजेटबाट प्रारम्भिक तयारीका कामहरू अघि बढाउन सहज भएको जनाइएको छ।
उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएर सरसफाइ, मेसिन मर्मत तथा परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिदको काममा जुटेको छ। सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मत कार्यसमेत सुरु गरिसकेको छ।
उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान तयार गरेको छ। सोही आधारमा मन्त्रालयले भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ।
यस्तै, उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा तत्कालका लागि पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने र त्यसको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिने उल्लेख गरिएको छ। डीपीआरका आधारमा आवश्यक कानुनी तथा नीतिगत निर्णय गर्दै सरकारले उद्योगलाई पूर्ण रूपमा सञ्चालन गर्ने योजना अघि बढाउने जनाइएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। उनले कार्यदलका सुझावअनुसार निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।