आइतवार, श्रावण २४ गते २०८३

पाँच खाद्य व्यवसायमा अनुगमन, म्याद गुज्रिएका खाद्य पदार्थ नष्ट

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त उपभोक्ता गुनासोका आधारमा आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन सञ्चालन गर्दै काठमाडौं र ललितपुरका पाँच खाद्य व्यवसायमा निरीक्षण गरेको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनमा विभिन्न कमजोरी फेला परेपछि आवश्यक निर्देशन तथा कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित गाउँबेसी थकाली मा केही प्रशोधित खाद्य पदार्थमा लेबल नभएको तथा केहीमा पूर्ण लेबल विवरण नपाइएको, फ्रिजको प्रयोग अव्यवस्थित रहेको र भण्डारण कक्षमा म्याद सकिएका रोज वाटर र केवरा वाटर फेला परेको थियो।

ती म्याद गुज्रिएका खाद्य पदार्थ नष्ट गरिएको छ भने थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं महानगरपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको विभागले जनाएको छ। साथै खाद्य स्वच्छता कायम गर्न, कीट नियन्त्रण प्रभावकारी बनाउन र खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिइएको छ।

यसैगरी, ठमेलस्थित भागवती कोल्ड स्टोर मा सरसफाइको अवस्था सन्तोषजनक नभएको, खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, कीट नियन्त्रणको उचित व्यवस्था नभएको तथा पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री–वितरण गरिएको पाइएको छ।

साथै म्याद सकिएका रोज वाटर र ब्लुबेरी सिरप भेटिएपछि ती नष्ट गरिएको विभागले जनाएको छ। व्यवसायलाई खाद्य स्वच्छता कायम गर्न र कीट नियन्त्रण प्रभावकारी बनाउन निर्देशन दिइएको छ भने थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं महानगरपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

ललितपुर महानगरपालिका–१ स्थित इरानी चिया मा पूर्ण लेबल विवरण नभएका डोनट र फुड सिरप फेला परेका थिए। साथै भान्सामा फोहोरदानी खुला अवस्थामा राखिएको पाइए पनि फ्रिजमा रहेका खाद्य वस्तु भने सन्तोषजनक अवस्थामा भेटिएका थिए। विभागले लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न लगाउनुका साथै नियमित सरसफाइ गर्न निर्देशन दिएको छ।

काठमाडौंको नयाँ बसपार्कस्थित कृष्ण अर्पण सप्लिमेन्ट एण्ड ब्युटी स्टोर मा उपभोक्ता गुनासोमा उल्लेख गरिएअनुसार सेरेलेकमा किरा नभेटिए पनि सोही ब्याचका दुई नमूना फेला परेपछि प्रयोगशाला परीक्षणका लागि नमूना संकलन गरिएको विभागले जनाएको छ।

त्यस्तै, एसजी नेपाल प्रालि। मा भण्डारण प्रणाली व्यवस्थित नभएको, उत्पादनको लेबलिङमा त्रुटि देखिएको तथा स्टोरमा रंगरोगन गर्दा खाद्य पदार्थ संक्रमणको जोखिम हुने अवस्था भेटिएको विभागले जनाएको छ। 

विभागका अनुसार गुनासो व्यवस्थापनका लागि गरिएको आकस्मिक अनुगमनअन्तर्गत पाँच खाद्य व्यवसायमा निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा भेटिएका म्याद सकिएका खाद्य पदार्थ नष्ट गर्नुका साथै आवश्यक सुधार गर्न सम्बन्धित व्यवसायलाई निर्देशन दिइएको विभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार