काठमाडौं। उत्पादनको उचित मूल्य नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका किसानसँग कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले प्रत्यक्ष भेटघाट गरी छलफल गरेकी छन्।
छलफलका क्रममा किसानहरूले कृषि उत्पादनको लागतअनुसार मूल्य निर्धारण हुन नसकेको, बजार व्यवस्थापन कमजोर रहेको, बिचौलियाको प्रभावका कारण उचित मूल्य नपाएको तथा कृषि उपजको बिक्री–वितरणमा विभिन्न समस्या रहेको गुनासो गरेका थिए।
किसानका माग र समस्याप्रति गम्भीर ध्यान दिँदै मन्त्री चौधरीले सम्बन्धित निकायका पदाधिकारीलाई आवश्यक समन्वय गरी तत्काल समाधानका लागि प्रभावकारी पहल गर्न निर्देशन दिएकी छन्। उनले किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै बजार व्यवस्थापन सुदृढ बनाउने, कृषि उपजको सहज बिक्री–वितरण सुनिश्चित गर्ने तथा किसानमैत्री नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिन्।
उनले किसानका जायज मागहरू चरणबद्ध रूपमा सम्बोधन गरिने विश्वास व्यक्त गर्दै कृषि क्षेत्रको दिगो विकास, उत्पादन वृद्धि र किसानको आयस्तर सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।
छलफलमा मन्त्रालयका उच्च अधिकारी, सम्बन्धित निकायका प्रतिनिधि तथा किसान प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र किसानका मागलाई व्यावहारिक रूपमा सम्बोधन गर्दै समाधानको प्रक्रिया अघि बढाउने सहमति भएको छ। किसानले उचित मूल्य नपाएको भन्दै माइतीघरमा गोलभेडा फालेर विरोध प्रर्दशन गरेका थिए ।