म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यवसायिक तरकारीखेती र पशुपालन गर्ने किसानलाई उत्पादनका आधारमा रु २५ लाखभन्दा बढी अनुदान वितरण गरेको छ।
नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रमअन्तर्गत एक सय १६ जना किसानलाई रु २५ लाख ६९ हजार नौ सय ८३ अनुदान प्रदान गरिएको हो। यसमध्ये ५९ जना तरकारी किसानलाई रु १३ लाख ४९ हजार नौ सय ८३ तथा ५७ जना पशुपालक (३८ जना बाख्रापालक र १९ जना गाईभैँसीपालक) लाई रु १२ लाख २० हजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए।
उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, तरकारीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको थियो। पशु सेवा शाखामा परेका ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट गरिएको पशु चिकित्सक डा. सुदीप पौडेलले बताए। छनोट भएका किसानलाई न्यूनतम रु १३ हजारदेखि अधिकतम रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको छ।
तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ जना किसान तथा कृषक समूह छनोट भएका थिए। काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताइन्।
बेनी नगरपालिका–१ रत्नेचौरका किसान निरबहादुर थापाले थोरै नगद प्राप्त भए पनि यो कार्यक्रमले मेहनत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको बताए। उनका अनुसार उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन् र साना किसानलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ।
आर्थिक वर्ष २०८०/८१ देखि गाईभैँसी र बाख्रापालक किसानलाई सञ्चालन गरिएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यस वर्षदेखि तरकारीखेती गर्ने किसानलाई पनि समेटिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख सुरत केसीका अनुसार मासु, दूध र तरकारीको उत्पादन वृद्धि गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको छ।
उनले किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादनपछि नगद प्रोत्साहन दिने नीति सफल भएको उल्लेख गर्दै साना तथा मझौला किसानलाई पनि समेट्ने गरी कार्यविधि तयार गरिएको बताए।
कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ।
वर्गअनुसार रु १५ हजारदेखि रु ४५ हजारसम्म अनुदान उपलब्ध गराइने व्यवस्था छ। यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान राखिएको छ।
उपप्रमुख ज्योती लामिछानेले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमले पशुपालक किसानलाई व्यावसायिक बनाउन र टिकाइराख्न सहयोग पुगेको बताइन्।
कृषि क्षेत्रलाई प्राथमिकता दिएको बेनी नगरपालिकाले वडा नं. ४ सिंगामा चिस्यान गृह सञ्चालनमा ल्याएको छ भने वडा नं. ८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी गरिरहेको जनाएको छ।