काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले डिम्याट खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बर अनलाइनमार्फत अद्यावधिक गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार “लाइनमा होइन, अनलाइनमा” भन्ने अवधारणाअनुसार निक्षेप सदस्य (डिम्याट) सम्बन्धी अधिकांश सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको क्यापिटलले अब राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्ने सुविधा पनि अनलाइनमार्फत उपलब्ध गराएको हो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनअनुसार नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण (केवाईसी) अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था लागू भएपछि एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका शाखामार्फत डिम्याट खाता खोलेका ग्राहकहरूलाई लक्षित गर्दै उक्त सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ।
यस सुविधाका लागि सेवाग्राहीले क्यापिटलको वेबसाइट वा डिम्याट अनलाइन पोर्टल
https://dematonline.nicasiacapital.com/मा प्रवेश गरी आफ्नो डिम्याट खाता नम्बर र जन्ममिति प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि डिम्याट खातामा दर्ता भएको मोबाइल नम्बर वा इमेलमा प्राप्त हुने ओटीपी प्रमाणीकरण गरेपछि राष्ट्रिय परिचयपत्र नम्बर तथा राष्ट्रिय परिचयपत्रको अगाडिको भाग स्पष्ट देखिने प्रतिलिपि वा राष्ट्रिय परिचयपत्र कन्फर्मेसन पत्र अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।
रितपूर्वक विवरण पेश गरेपछि राष्ट्रिय परिचयपत्र नम्बर डिम्याट खातामा अद्यावधिक भए/नभएको अवस्था पनि क्यापिटलको वेबसाइटमा रहेको ‘चेक रिक्वेस्ट’ सेवामार्फत अनलाइनमै हेर्न सकिने कम्पनीले जनाएको छ।
यस्तै, डिम्याट खातामा एनआईसी एशिया बैंकको बैंक खाता उल्लेख वा अद्यावधिक भएका ग्राहकहरूको हकमा बैंक खातामा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक रहेको अवस्थामा सोही विवरणका आधारमा डिम्याट खातामा समेत राष्ट्रिय परिचयपत्र नम्बर स्वतः अद्यावधिक गरिने व्यवस्था मिलाइएको क्यापिटलले जानकारी दिएको छ।
राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक सम्बन्धी कुनै जिज्ञासा वा थप जानकारी आवश्यक परेमा एनआईसी एशिया क्यापिटलको मोबाइल नम्बर ९८४७३४५०९९ मा सम्पर्क गर्न वा ह्वाट्सएपमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।