आइतवार, श्रावण २४ गते २०८३

नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते, सवारी आवातजावात भने तीन महिनापछि मात्रै

शनिवार , श्रावण २, २०८३

काठमाडौं । नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ । सुरुङमार्गनिर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको छ । 

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भइ उद्घाटन र सञ्चालनको तयारी भइरहेको छ । 
प्रधानमन्त्री वालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उनले बताए । 

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने बताए ।

उनका अनुसार उद्घाटनको तीन महिनासम्म सुरुङमार्गको परीक्षणकाल सञ्चालन (ट्रायल ओपनिङ पिरियड) हुनेछ । 


उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवत—जावत गर्न दिइनेछ । 

आयोजनाको काम सम्झौताभन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौताअनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो ।

आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ वढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा ६ अर्ब रुपियाँ खर्च भएकोछ । 

१९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो ।

यो आयोजनाको लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गरिएको छ । 


यस आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर लामो छ भने आपतकालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारी साधनको प्रकार हेरेर ६० देखि ६ सय रुपियाँसम्म शुल्क तिर्नेपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार