काठमाडौं । दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको संसद् मार्चमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दा कैयौँ मानिस घाइते भएका छन्। यसका बाबजुद पनि प्रदर्शनकारीहरू अघि बढ्दै संसद् मार्ग प्रहरी चौकीसम्म पुगेका भारतीय सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।
सोमबारको प्रदर्शनका लागि आइतबार राति ११ बजेदेखि नै मानिसहरू जन्तरमन्तरमा भेला हुन थालेका थिए। उनीहरूले फुटपाथमै रात बिताए। सोमबार बिहान मार्च सुरु हुनेबित्तिकै प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।
जन्तरमन्तरका सबै प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले ७ फिट अग्लो ३ तहको ब्यारिकेडिङ गरेको थियो। तर, बढ्दो भिडले ब्यारिकेडहरू पन्छाउँदै र तोड्दै अघि बढ्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो।
प्रहरीले संसद्को नयाँ अधिवेशन सुरु भएकाले कसैलाई पनि मार्चको अनुमति नदिइएको बताएको छ। जन्तरमन्तरदेखि संसद्सम्म करिब ५ हजार प्रहरी र र्यापिड एक्सन फोर्सका जवानहरू तैनाथ गरिएका छन्।