काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरि उड्डयन प्राधिकरणका तत्कालीन् महानिर्देशक प्रदीप अधिकारी मंगलबार एकैपटक दुई वटा मुद्दा दायर गरेको छ ।
प्राधिकरणले आह्वान गरेको ठेक्का सम्बन्धी बोलपत्रमा अनियमितता गरेको आरोपमा आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको हो ।
अधिकारीले प्राधिकरणमा रहँदा ठेक्काहरुमा स्वीकृति,रेखदेख तथा भुक्तानी लगायतका जिम्मेवारीमा रहँदा अनियमितता गरेको आयोगले आरोप लगाएको छ ।
आयोगका अनुसार अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट रकम लिएको र उक्त रकमबाट पत्नीको नाममा ललितपुरमा जग्गा किनेको समेत देखिएको छ ।
जग्गा किन्दा थैली रकम ९१ लख रुपियाँ देखाएर बाँकी एक करोड ७१ लख रुपियाँ गायत्री निर्माण सेवाका सञ्चालकबाट तिर्न लगाएको देखिएको छ ।
आयोगले दुवै मुद्दामा अधिकारी र ढकाललाई प्रतिवादी बनाएको छ ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आयोगले दुवै प्रतिवादीलाई जनही एक करोड ७१ लाख रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरेको आयोगका प्रवक्ता सुरेश न्यौपाने जानकारी दिए ।
अधिकारीविरुद्ध यसअघि पनि आयोगले विशेष अदालतमा पटक पटक भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
कतिपय मुद्दा विशेष अदालतबाट फैसला भइसकेको छ भने केहिको बाँकी छ ।