आइतवार, श्रावण २४ गते २०८३

गुनासोपछि दुई खाद्य उद्योगमा आकस्मिक अनुगमन

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोको व्यवस्थापनका लागि आकस्मिक (र्यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमनअन्तर्गत ललितपुरका दुई खाद्य उद्योगमा निरीक्षण गरी नमुना संकलन तथा आवश्यक निर्देशन दिएको छ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मिति २०८३ साउन ४ गते गरिएको अनुगमनमा पाटन औद्योगिक क्षेत्रस्थित अन्नपूर्ण इन्डस्ट्रिज र संयुक्त डेरी एण्ड फूड प्रालि को निरीक्षण गरिएको हो।

अन्नपूर्ण इन्डस्ट्रिजमा प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निरीक्षणका क्रममा उद्योगको सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, पानी भर्न, बोतल सफा गर्न तथा बिर्को लगाउन स्वचालित मेसिन प्रयोग गरिएको र नियमित गुणस्तर परीक्षणका प्रतिवेदन अनुकूल रहेको पाइएको विभागले जनाएको छ।

उजुरीमा उल्लेख भएअनुसारको नेक सिल भने विभागको २०८२ चैत ३० गतेको निर्णयअनुसार प्रयोग गर्न छाडिएको पाइएको उल्लेख गरिएको छ।

विभागले थप अनुसन्धानका लागि उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको नमुना संकलन गरेको छ। साथै खाद्य स्वच्छता कायम राख्न र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिम कार्य गर्न निर्देशन दिएको छ।

त्यस्तै, संयुक्त डेरी एण्ड फूड प्रा।लि।मा गरिएको निरीक्षणमा उद्योगको सरसफाइ तथा कीट नियन्त्रणको अवस्था सामान्य रहेको, उत्पादित दहीमा आवश्यक लेबल विवरण उल्लेख गरिएको तथा गुणस्तर परीक्षण उद्योगकै प्रयोगशालाबाट गरिएको पाइएको विभागले जनाएको छ।

उद्योगबाट उत्पादित दहीको नमुना थप अनुसन्धानका लागि संकलन गरिएको छ। साथै दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी मापदण्ड, २०७५ बमोजिम उत्पादन तथा व्यवस्थापन गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागका अनुसार उक्त अनुगमनअन्तर्गत कुल दुई खाद्य व्यवसायको निरीक्षण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार