काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले एपमार्फत बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपभित्र उपलब्ध लिंकमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी सहज रूपमा खाता खोल्न सक्नेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले बैंक खाता खोल्ने प्रक्रियालाई थप सरल, छरितो र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।
यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकका लागि उपलब्ध हुनेछ। खाता खोल्ने क्रममा बैंकले ग्राहकको पूर्वस्वीकृतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गर्ने भएकाले विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नेछ। यसले ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित गर्ने बैंकको भनाइ छ।
नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा उपस्थित भई वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यस सेवाले सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तारमा टेवा पुर्याउनेछ। साथै नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी बनाउनुका साथै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको छ। बैंकले ‘बैंक अफ द इयर–२०१४’, ‘बेस्ट इन्टरनेट बैंक–२०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको छ। यसबाहेक ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल–२०२४’ तथा ‘बेस्ट इम्प्लोयर’लगायतका प्रतिष्ठित पुरस्कार पनि हात पारिसकेको छ।
हाल ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा परिचित छ। बैंकले देशभर ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको जनाएको छ।