काठमाडौं । एमबिएसको प्रश्नपत्र प्रकरणमा दोषीलाई कडा कारबाही हुनुपर्ने शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छ।
आइतबार सामजिक सन्जालमा लामो स्ट्याटस लेख्दै पोखरेलले दोषीलाई कसरी पक्राउ गरियो भन्ने पनि खुलायका छन । यस्तो छ पोखरेलको भनाई:
गत शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर (MBS) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र WhatsApp मार्फत सार्वजनिक भएको जानकारी प्राप्त भयो। घटना सार्वजनिक हुनेबित्तिकै मैले तत्काल अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय अघि बढाएँ। त्यसको परिणामस्वरूप २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितहरू प्रहरी नियन्त्रणमा पुगे।
परीक्षा प्रणालीमाथिको विश्वास, शैक्षिक संस्थाको विश्वसनीयता र हजारौँ इमानदार विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले यसलाई सामान्य घटनाका रूपमा हेर्न सकिँदैन भन्ने मेरो स्पष्ट धारणा थियो। सोहीअनुसार मैले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्पर्क गरी तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरेँ। केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र साइबर ब्युरोलाई आवश्यक अनुसन्धानमा परिचालन गर्न समन्वय गरियो।
प्रहरीले डिजिटल प्रमाण र WhatsApp Groupहरूको विश्लेषण गर्दै घटनामा संलग्न मुख्य आरोपितहरूलाई नियन्त्रणमा लिन सफल भयो। अनुसन्धान अझै जारी छ, र यस घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्छ भन्ने मेरो स्पष्ट विश्वास छ।
यो घटना केवल केही व्यक्तिको गल्ती मात्र होइन, परीक्षा प्रणालीभित्र रहेका सम्भावित कमजोरीहरूको समीक्षा गर्ने अवसर पनि हो। त्यसैले प्रश्नपत्रको सुरक्षा, परीक्षा सञ्चालन प्रक्रिया र सम्भावित आन्तरिक कमजोरीहरूको समेत छानबिन गर्न आवश्यक रहेकोमा मैले जोड दिएको छु।
यसैक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा प्रणालीमा रहेका कमजोरी र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
परीक्षा प्रणालीमाथि जनविश्वास कायम राख्नु राज्यको दायित्व हो। त्यसका लागि आवश्यक कानुनी तथा संस्थागत सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ। विगतमा यस्ता घटनामा छानबिन लम्बिने र दोषी उम्किने गुनासो सुनिन्थ्यो, तर अब त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने मेरो विश्वास छ।
यो घटनालाई म केवल एउटा आपराधिक घटनाका रूपमा मात्र होइन, हाम्रो परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा पनि लिएको छु। इमानदार विद्यार्थीको मेहनतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीप्रतिको जनविश्वास अझ बलियो बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहनेछ।