काठमाडौँ ।सुनसरीको देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा स्थानीय प्रशासनले बल प्रयोग गरेको विरोधमा सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।
दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहान प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा कप्तानगंज क्षेत्रको अवस्था तनावग्रस्त छ । सुनसरी सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इनरुवा बजार क्षेत्रमा बन्द गराएर राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ ।