काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसमेत २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
महतोले लक्जेम्बर्गको नागरिकको नाममा जारी भएको आवासीय भिसालाई किर्ते गरी आवश्यक प्रक्रिया नपुगेको र आवासीय भिसा प्राप्त गर्न अयोग्य अमेरिकी नागरिकको नाममा एकीकृत गरी भिसा प्रिन्ट गरेको आयोगले जनाएको छ ।
र सोही भिसा अमेरिकी नागरिकको राहदानीमा टाँस भएको देखिएको आयोगले जनाएको छ । यस कार्यमा संलग्न भएको आरोपमा आयोगले महतोसहित अमेरिकी नागरिक डिन जे रविन्सनविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दुवै जनालाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाहीको माग गरिएको छ ।