आइतवार, श्रावण २४ गते २०८३

कम भन्सार तिरेर ल्याइएको तोरीलाई तेल नबनाई बिक्रि, राजस्व घाटा, बजारमा महङ्गी

सोमवार , श्रावण १८, २०८३

काठमाडौं । तोरी तेल उद्योगसँग सम्बन्धित आयात र बजार कारोबारमा गम्भीर अनियमितता देखिएको छ । औद्योगिक कच्चा पदार्थका रूपमा तोरीको दाना ५ प्रतिशत मात्र भन्सार दरमा आयात गरिँदै आएको भए पनि सोही दाना तेल उत्पादन नगरी सिधै व्यापारिक प्रयोजनका लागि बेचिएको आरोप उठेको छ । 

यसले एकातिर सरकारलाई भन्सार राजस्वमा नोक्सान पु¥याएको छ भने अर्कोतर्फ उपभोक्ताले अनावश्यक रूपमा महँगो मूल्य तिर्न बाध्य भएका छन् । उद्योगीहरूले कम भन्सार दरको सुविधा लिएर आयात गरेको तोरी दाना विगत पाँच वर्षदेखि नै तेल उत्पादनभन्दा बढी ट्रेडिङतर्फ मोडिएको स्रोतको दाबी छ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र रहेका साना तेल मिलहरूमा यस्तो दाना अस्वाभाविक रूपमा महँगो मूल्यमा बिक्री गरिएको पाइएको छ । यसले साना उद्यमीहरूलाई पनि दबाबमा पार्दै बजारमा तेलको मूल्य कृत्रिम रूपमा बढाउने काम गरेको देखिन्छ । नाम नबताउने सर्त मा एक ब्यपारिको भनाइ अनुसार  यो कार्य नीतिविपरीत मात्र नभई खुला रूपमा कर छल्ने र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि हो । “औद्योगिक कच्चा पदार्थको नाममा सहुलियत लिने तर उत्पादन नगरी सिधै बेच्ने काम गम्भीर आर्थिक अपराध हो,” एक मि।ल संचालकले भने । 

यस प्रकरणमा सम्बन्धित निकायले विगत पाँच वर्षको आयात विवरण, उत्पादन र बिक्रीको तथ्यांक सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अनुगमन कमजोर हुँदा यस्ता प्रवृत्ति मौलाएको भन्दै सरोकारवालाहरूले कडा छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

सरकारले समयमै कदम नचाले बजारमा मूल्यवृद्धि झनै चुलिने र उपभोक्ता थप मारमा पर्ने चेतावनी दिइएको छ । यसबारेमा सरकारी निकायमा पटक पटक मौखिक गुनासो गरिएको भएपनि सरकारी पक्षबाट प्रभावकारी कदम नचालिएको मारमा परेका व्यवसायीको गुनासो छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार