काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ सेवा सुरक्षित, भरपर्दो तथा विश्वसनीय बनाउन साइबर सुरक्षा सम्बन्धी विशेष सचेतना जारी गरेको छ।
बैंकले पछिल्लो समय बढ्दो साइबर जोखिम तथा डिजिटल ठगीका घटनालाई ध्यानमा राख्दै ग्राहकहरूलाई सजग रहन आग्रह गरेको हो।
बैंकका अनुसार केही व्यक्तिहरूले नेपाल बैंकका कर्मचारी भएको परिचय दिँदै फोन, ह्वाट्सएप, भाइबर, एसएमएस, इमेललगायत डिजिटल माध्यमबाट ग्राहकसँग सम्पर्क गरी केवाईसी (KYC) अद्यावधिक, मोबाइल बैंकिङ भेरिफिकेसन, एटीएम कार्ड नवीकरण, खाता प्रमाणीकरण, मोबाइलमा एप डाउनलोड गराउनेलगायतका विभिन्न बहानामा ठगी गर्ने प्रयास गरिरहेका छन्।
यस्ता ठगी गर्ने व्यक्तिहरूले ओटीपी (OTP), पासवर्ड, पिन, कार्ड विवरण, सीभीभी (CVV), मोबाइल बैंकिङ लगइन विवरण तथा स्क्रिन सेयर गर्न आग्रह गरेर ग्राहकका गोप्य बैंकिङ जानकारी प्राप्त गर्ने र त्यसको दुरुपयोग गरी अनधिकृत वित्तीय कारोबार गर्न सक्ने भएकाले विशेष सतर्क रहन बैंकले अनुरोध गरेको छ।
नेपाल बैंकले साइबर ठगीबाट सुरक्षित रहन आवश्यक सावधानी तथा सुरक्षा उपायहरू समेटिएको साइबर सुरक्षा सचेतना सामग्री सार्वजनिक गरेको जनाएको छ। उक्त सामग्री ध्यानपूर्वक अध्ययन गरी परिवार, साथीभाइ तथा आफन्तहरूलाई पनि जानकारी गराई सुरक्षित डिजिटल बैंकिङ अभ्यास प्रवर्द्धन गर्न बैंकले आग्रह गरेको छ।
त्यसैगरी, कसैले नेपाल बैंकको कर्मचारी बनेर गोप्य बैंकिङ विवरण मागेमा वा कुनै शंकास्पद गतिविधि देखिएमा कुनै पनि जानकारी नदिन र यथाशीघ्र बैंकका आधिकारिक माध्यममार्फत सम्पर्क गर्न बैंकले ग्राहकहरूलाई अनुरोध गरेको छ।
बैंकले ग्राहकको सतर्कताले नै डिजिटल बैंकिङ सुरक्षाको पहिलो आधार हुने उल्लेख गर्दै सबैलाई सुरक्षित र सचेत रहन अपिल गरेको छ।