आइतवार, श्रावण २४ गते २०८३

खानेतेलको मूल्यमा भारि वृद्धि

शुक्रवार , श्रावण २२, २०८३

काठमाडौं । नयाँ आर्थिक वर्ष साउन लागेसँगै बजारमा खानेतेल तथा घिउको मूल्य बढेको छ । तेल तथा घिउको मूल्य दुई साता अवधिमै प्रतिलिटर ५ देखि १५ रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा निकै महँगो बनेको छ ।

सबै प्रकारका खानेतेलको आकासिँदो भाउले उपभोक्ताको भान्साको बजेट मात्रै बिगारेको छैन, हरेक उपभोग्य वस्तुको भाउ बढ्दा महँगी मारमा परेका नागरिकको दैनिकी झनै कष्टकर बनाइदिएको छ ।

खानेतेलको मूल्य १५ दिनमै १५ रुपैयाँसम्म बढ्दा खुद्रा व्यापारी र ठूला उद्योगी–आयातकर्ताबीच ‘कसले भाउ बढायो’ भन्ने आरोप–प्रत्यारोपको जुहारी चलिरहेको छ ।

लामो समयदेखि उपभोक्ताको भान्सा कसरी महँगिदै छ भन्ने बुझ्न खुद्रा व्यापार संघको तथ्यांक नै काफी छ । गत आव २०८२ ८३ को १५  साउन र चालु आव २०८३ ८४ को १५ साउनको मूल्यसूची दाँजेर हेर्दा खानेतेलको मूल्यवृद्धिको ग्राफ उकालो लागेको देखिन्छ ।

एक वर्ष अवधिमा तेलमा प्रतिलिटर न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म र डाल्डा घिउमा ३० रुपैयाँ महँगो भएको छ ।तथ्यांक अनुसार पोहोर १५ साउनमा प्रतिलिटर ४ सय १० रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले ४ सय ६० रुपैयाँ पुगेको छ । सिधै ५० रुपैयाँको यो वृद्धिले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ ।

त्यस्तै गत वर्ष ३ सय ३५ रुपैयाँ रहेको १ नम्बर काँचो तोरीको तेल यस वर्ष ४५ बढेर ३ सय ८० रुपैयाँ पुगेको छ भने २ सय ५०  रहेको २ नम्बर काँचो तोरीको तेल ४० बढेर २ सय ९० रुपैयाँ पुगेको छ ।

धेरै नेपालीको भान्सामा प्रयोग हुने सनफ्लावर र भटमास तेलको अवस्था पनि उस्तै छ । गत वर्ष २ सय ४५ रुपैयाँ रहेको सनफ्लावर तेल अहिले ४५ महँगिएर २ सय ९० पुगेको छ ।

२ सय ४५ रुपैयाँमै पाइने भटमास तेल एक वर्षमा ४० बढेर २ सय ८५ पुगेको छ । व्यावसायिक र घरायसी प्रयोजनमा धेरै खपत हुने वनस्पति (डाल्डा) घिउ पोहोर २ सय ५० रुपैयाँ थियो, जुन अहिले ३० बढेर २ सय ८० पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार