काठमाडौँ। साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।
बिहान झमझम पानी परेपनि शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन्। बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए।
पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थान आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ। गौरीनगरसम्म भक्तजनको लामो लाम लागेको छ।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवम् विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ। बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ।