काठमाडौँ ।बजारमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको छ।
नेपाल आयल निगम, ग्यास विक्रेता संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा मंगलबार बुटवल र भैरहवामा खुला रूपमा ग्यास वितरण गरिएको हो।
मंगलबार स्वस्तिक, त्रिशूल, बुटवल, सिद्धार्थ, जानकी, सिद्धनाथ, लुम्बिनी, आरती लगायत ८ वटा कम्पनीका ८ सय सिलिन्डर बुटवलमा र ८ सय सिलिन्डर भैरहवामा वितरण गरिएको छ।
ग्यास विक्रेता संघ रूपन्देहीका महासचिव सूर्य खनालले बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरी मङ्गलबार १६ सय सिलिन्डर ग्यास वितरण गरिने बताए।खनालले ग्यास लगेर घरमा स्टक नराखून् भनेर वितरण स्थलमा खाली सिलिन्डर लिएर आउने उपभोक्ताको नागरिकता वा कुनै परिचय पत्र राखेर मात्र सिलिन्डर उपलब्ध गराएको बताए।
ग्यासका बिक्री केन्द्रहरूमा उपभोक्ताको लाइन लागेको देख्दा चरम अभाव भएजस्तो देखिए पनि पहिले र अहिलेको आपूर्तिमा धेरै अन्तर छैन।
आयल निगमको समन्वयमा ग्यास वितरण गर्ने भनिएपछि बुटवल उपमहानगरपालिका अगाडि रहेको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा मंगलबार बिहानैदेखि उपभोक्ताहरूको भीड लागेको थियो।
बुटवलको चर्को गर्मीको प्रवाह नगरी उपभोक्ताहरू छाता ओढेर भए पनि बिहानैदेखि खाली सिलिन्डर बोकेर लाइन लाग्न पुगेका थिए।