मंगलवार, आश्विन १३ गते २०८३

प्यूठानमा ४ जनाको शव फेला

बिहिवार , श्रावण २८, २०८३

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ ।

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२र१३ वर्षीय बालकको शव फेला परेको छ । त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ । यसैबीच, बिहान करिब ९ः३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।

स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा सोकोसहित १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार