सोमवार, आश्विन १२ गते २०८३

रास्वपाको ओरालो यात्रा सुरु हुनु नयाँ दलको उपलब्धि होइन – योगेश भट्टराई

शुक्रवार , श्रावण २९, २०८३

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रवि लामिछाने र बालेन शाहको ओरालो यात्रा र अयोग्यतालाई पुराना नेताहरूले आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार नबनाउन चेतावनी दिएका छन् ।

भट्टराईले नयाँ शक्तिहरूको कमजोरीलाई आधार मानेर पुराना दलका नेताहरू आत्मरतिमा रमाउनु झनै ठूलो ‘महाभूल’ हुने चेतावनी दिएका हुन्।


शुक्रबार फेसबुकमा पुराना दलका शीर्ष नेताहरूले पार्टीभित्र पुरानै भूमिकामा फर्कन गरिरहेको मेहनतलाई संकेत गर्दै नेता भट्टराईले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरूको आलोचना गरेका छन् ।
के भने भट्टराईले ?

पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी)  को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो। रवि, बालेनलाई नेता बनाइयो। तत्काल ठूलै सफलता पनि मिल्यो। तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न तीर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ ।

अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्। बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ ।

अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरी त्यही गल्ती दोहोर्‍याउँदैछन्। रास्वपाको ओरालो यात्रा र रवि(बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन्। विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पुनर्निर्माणतिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनि छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्ने हो भने त्यो महाभूल हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार