काठमाडौं। लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित नेपाल-चीन सीमा अध्ययन समितिले सीमा समस्या समाधान गर्न संयुक्त निरीक्षण समितिबाट काम गर्न सुझाव दिएको छ।
नेपाल र चीन दुवै देशका संयन्त्रमार्फत संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निर्देशन समितिमार्फत समस्या समाधान गर्न सुझाव दिएको हो। हुम्लाको नाम्खा गाउँपालिका-५ र ६ नम्बर वडा जोडिएको नेपाल-चीन सीमाको अध्ययन गरेर सुझावसहितको प्रतिवेदन पेस गर्न सरकारले दुई साताअघि आचार्यको संयोजकत्वमा ६ सदस्सीय अध्ययन समिति गठन गरेको थियो। तोकिएको समयभित्रै समितिले स्थलगत निरीक्षण गरी आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा उल्लेख गरिएका सुझावबारे विस्तृत रुपमा मन्त्रालयले सार्वजनिक गरेको छैन तर निष्कर्षका केही बुँदा समेटेर विज्ञप्ति मार्फत जानकारी गराएको हो।