काठमाडौं। विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो।
जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौंमै फर्किएर निकै प्रयास पछि अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ।
जहाज फर्किएपछि काठमाडौं विमानस्थलमा सम्भावित संकटलाई ध्यानमा राखी सबै तयारी गरिएको थियो। काठमाडौंको आकाशमा धेरै फन्को लगाएर जहाजको इन्धन कम भएपछि अवतरण गराइएको हो।
काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ।