काठमाडौं । गत साउन ११ गते उद्घाटन गरिएको नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गरिएको थियो ।
सोमबारदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको हो । सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ छ ।
यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् । जैसीका अनुसार हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ ।
उनका अनुसार अवस्था हेरेर १र२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला हुनेछ । सञ्चालन समयलाई बिहान ७ देखि साँझ ८ सम्म र त्यसपछि बिहान ६ देखि राति १० बजेसम्म विस्तार गर्ने योजना छ ।