काठमाडौं। कोरोनाका कारण बन्द रहेका हल फेरी खोल्ने तयारी गरिएको छ। दशैको अवसर पारी दोस्रो लहरको कोरोनाले बन्द भएका हल खोल्ने तयारी गरिएको हो। आइतबार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले घटस्थापनाको अवसर पारेर असोज २१ देखि फिल्म हल खोल्ने निर्णय गरेको हो।
सरकारले यसअघि नै हल खोल्ने निर्णय दिए पनि नयाँ फिल्म नहुँदा हलहरू बन्द अवस्थामा नै थिए। दशैँमा हल खुल्ने फिल्म लाग्ने पक्का भएसँगै डेढ वर्षदेखि निष्क्रिय जस्तो रहेको नेपाली फिल्म उद्योग पुन: चलायमान हुने अपेक्षा गरिएको छ। विशेष गरी दशैँ तिहारमा नेपाली फिल्म प्रदर्शनको लागि सबैभन्दा उत्तम समय मानिन्छ।
त्यसैले निर्माताहरू दशैँमा फिल्म प्रदर्शन गर्ने गरी तयारी गर्ने गर्छन्। असोज २१ देखि हल खुले पनि नेपाली फिल्म भने २५ देखि मात्रै प्रदर्शन हुने बताइएको छ। अहिलेसम्म दशैँको अवसर पारेर दुई फिल्मले प्रदर्शनको घोषणा गरिएको छ। जसमा २५ गते धन्दागिरी र २६ गते डाँडाको बरपिपल प्रदर्शनमा आउने छ। घटस्थापनामा भने हलिउड फिल्म एफ-९ (फास्ट एण्ड फ्युरियस ९) प्रदर्शनमा आउने बताइएको छ।
आइतबार बसेको बैठकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता र वितरकलाई भुक्तानी गरिने, दोस्रो हप्तामा ५० र ५० प्रतिशत हुने, नेपाली फिल्म प्रदर्शनमा आउने मितिमा विदेशी फिल्म प्रदर्शन नगर्ने जस्ता निर्णय गरेको छ। त्यस्तै, असोज २० गतेसम्ममा तीन महिनासम्म प्रदर्शनमा आउने फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने र पछिल्लो बैठकले गरेको निर्णय तिन महिनासम्म लागू हुने बताइएको छ।