काठमाडौं । भोटेकोशी खोलामा आएको बाढीको प्रभाव बिस्तारै कम हुँदै गएको छ ।
रसुवाबाट स्थानीयवासीले दिएको जानकारी अनुसार अहिले खोलामा पानी घट्ने क्रममा रहेको छ । तर कति मानवीय तथा भौतिक क्षति भयो भन्ने विषयमा भने एकिन विवरण आएको छैन । यद्यपि बाढीको जोखिम कायमै रहेका कारण सतर्कता अपनाउन भने प्रहरीले अनुरोध गरेको छ ।
स्याफूबेसी नजिकै रहेका उद्धवकृष्ण पाण्डेका अनुसार अहिले बाढी घटेको छ । तर, स्थानीयमा त्रास भने कायमै रहेको उनले बताए । बजार क्षेत्रमा बाढी आएपछि केहि व्यक्ति सुरक्षित स्थानतिर गएका छन् ।
बाढीका कारण कति धनजनको क्षति भयो भन्ने एकिन विवरण आएको छैन । तर बाढीले उक्त क्षेत्रका सम्पूर्ण संरचनाहरु पूर्ण रुपमा ध्वस्त बनाएको छ । बाढी घटेपछि बजार क्षेत्र बगरमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।