काठमाडौं। व्यापारी अपहरणको आरोपितले सफाइ पाएपछि घटना छानविन गर्न समिती गठन गरिएको छ। भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरेको आरोपमा पक्राउ परेका दुर्गाप्रसाद बुढाथोकीले प्रहरीको ’कमजोरी’का कारण सफाइ पाएपछि छानबिन गर्न समिति बनाइएको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। दोष के र कसको भएको हो भन्नेबारेमा छानबिन गर्न लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
बुढाथोकी २०६५ सालमा भएको कोल्ड स्टोरका मालिक बाबुराजा रावलको अपहरण घटनाका प्रतिवादी थिए। असोज ५ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले बुढाथोकीलाई सफाइ दिने फैसला गरेको थियो। गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो।
काठमाडौं परिसरले घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला अदालतमा पुर्याएको थियो। प्रारम्भिक सुनुवाइमा न्यायाधीश निरौलाकै इजलासले बुढाथोकीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर, उनी नेपाली नागरिक रहेको पुष्टि हुन नसकेको भन्दै असोज ५ गते सफाइ दिएको थियो।
सफाइ पाएर भारत पुगेपछि भने दुर्गाबहादुरबारे प्रहरीले फेरि खोजी थालेको छ। खोजीका लागि काठमाडौं परिसरले सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनमा पत्राचार गरेको थियो। पत्राचार गर्दा बुढाथोकीले २०५६ साल साउन २८ गते नागरिकता लिएको खुलेको छ।
परिसरले असोज ८ गते बुढाथोकीले नागरिकता लिए/नलिएकोबारे इलाका प्रशासनमा पत्राचार गरेको थियो। भारत पुगिसकेका बुढाथोकीलाई अदालतले सफाइ दिइसकेकाले अब के गर्ने भन्ने विषयमा पनि अदालतकै फैसला कुर्नुपर्ने उनले बताए।