सोमवार, श्रावण २५ गते २०८३

अफगानिस्तान मामलमा संयुक्त राष्ट्र संघमा बोल्यो नेपाल, महासभामा के भने परराष्ट्रमन्त्री खड्काले ?

मंगलवार , आश्विन १२, २०७८

काठमाडौं । परराष्ट्रमन्त्री डा. नरायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट सम्बोधन गरेका छन्। उनले आज बिहान सम्बोधन गर्दै नेपालका तर्फबाट बिभिन्न बिषयहरुमा धारणा राखे। त्यसक्रममा मन्त्री खड्काले कोरोना महामारी, आतंकवाददेखि अफगानिस्तान मामिलाबारे बिभिन्न कुराहरु व्यक्त गरे।

मन्त्री खड्काले कोभिड– १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताए। उनले नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा जानकारी गराए। 

सम्बोधनकाक्रममा मन्त्री खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताए। सार्क सदस्य राष्ट्र अफगानिस्तानबारे पहिलो पटक नेपाल सरकारले आफ्नो धारणा राखेको हो।

मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान आपसी समझदारीमा हुने विश्वास नेपालको रहेको पनि बताए ।

यद्यपि उनले आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले त्यसको विरोध गरिरहेको बताए । उनले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्धको नीति अवलम्वन गरेको स्पष्ट गर्दै मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे।

महासभालाई सम्बोधनको क्रममा मन्त्री खड्काले कोरोनाविरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक(सामाजिक असर पारेको बताउँदै, सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए ।

नेपालीलाई कोरोनाबाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिंदै मन्त्री खड्काले सबै नेपालीलाई आगामी ६ महिनाभित्र खोप लगाइसक्ने लक्ष्य रहेको बताए ।

परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्यूयोर्कमा छन् । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले संबोधनका क्रममा उल्लेख गरे। प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार