काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका हुन् ।
सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।
सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन्।
यस्तै (एकीकृत समाजवादी)ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको छ ।
नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।