काठमाडौं। नेपाल–तिब्बत सीमामा बुधबार आएको आकस्मिक विनाशकारी बाढी हिमनदी भत्किएपछि आएको पाइएको छ। प्रारम्भिक अनुसन्धानबाट यस्तो देखिएको वैज्ञानिकहरूले बीबीसीलाई बताएका हुन्।
यस घटनाले हिमालय क्षेत्रमा तीव्र गतिमा पग्लिरहेको हिउँ र हिमनदीबाट बढ्दो जोखिमलाई समेत उजागर गरेको छ।
सुरुवाती रिपोर्टमा भूकम्प गएको बताइएपछि भूकम्पका कारण पहिरो खसेको र त्यसपछि बाढी आएको धेरैले अनुमान गरेका थिए। उक्त बाढीमा हालसम्म २७० जनाको मृत्यु भइसकेको छ।
तर अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले पछि विपद्को कारण ‘हिमनदी भत्किनु’ रहेको स्पष्ट पारेको छ। हिमनदी वा त्यसको कुनै भाग टुक्रिएर भत्किने अवस्थालाई हिमनदी भत्किनु भनिन्छ।
यूएसजीएसको तथ्यांक तथा घटनाको विश्लेषण गरेका वैज्ञानिकहरूका अनुसार भत्किएको हिमनदी उपत्यकाको तल्लो भागमा खस्दा उत्पन्न भएको प्रभाव यति शक्तिशाली थियो कि त्यसलाई ५.२ म्याग्निच्युडको भूकम्पका रूपमा रेकर्ड गरिएको थियो।
डन्डी विश्वविद्यालयका हिमनदी विशेषज्ञ डा। साइमन कुकले बीबीसीलाई बताएअनुसार उनको टोलीले नेपालमा लाङटाङ लिरुङ हिमाल नजिकै रहेको हिमनदीको तल्लो भाग भत्किएको पत्ता लगाएको थियो। उक्त स्थान बाढी आएको क्षेत्रभन्दा करिब १५ किलोमिटर पश्चिममा पर्छ।
उनका अनुसार हिमनदी उत्तरपश्चिम दिशातर्फ भत्किएर त्यसपछि नदीको बहावसँगै पश्चिमतर्फ बगेको हुन सक्ने देखिएको छ।
अन्तर्राष्ट्रिय पर्वतीय विकासका लागि एकीकृत केन्द्र ९आईसीआईएमओडी०ले गरेको विश्लेषणमा उच्च हिमाली क्षेत्रमा ‘हिम–चट्टानसहितको पहिरो’ गएको हुन सक्ने उल्लेख गरिएको छ।
यसका कारण ठूलो परिमाणमा हिउँ र चट्टानको लेदो ल्यान्डे खोलामा खसेको थियो। ल्यान्डे खोला भोटेकोशी नदीको सहायक नदी हो। त्यसपछि नदीमा पानी, माटो, ढुंगा तथा ठूला चट्टानसहितको आकस्मिक बहाव आएको थियो।
आईसीआईएमओडीका अनुसार तल्लो क्षेत्रमा रहेका नदीहरूको जलस्तर ३० मिनेटभित्रै ७ देखि ९ मिटरले बढेको थियो। बाढीका कारण पानी मापन गर्ने केही केन्द्र बगेका वा क्षतिग्रस्त भएका थिए।
तीव्र गतिमा बगिरहेको बाढीको भिडियोमा वरिपरिका ठाडा पहाडबीच पानी र लेदो नदीको साँघुरो मार्ग हुँदै अत्यन्त तीव्र गतिमा तलतर्फ बगेको देखिन्छ। यद्यपि बुधबार हिमनदी भत्किनुको वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन।
हिमालयमा पग्लिँदै गएको हिउँले बढाउँदैछ जोखिम
वैज्ञानिकहरूले वर्षौंदेखि तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमनदी तथा स्थायी रूपमा जमेको माटो अर्थात् पर्माफ्रोस्ट पग्लिँदै गएको चेतावनी दिँदै आएका छन्।
आईसीआईएमओडीले यसै वर्ष सार्वजनिक गरेको एक अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीले सन् २००० को तुलनामा अहिले दोब्बर गतिमा हिउँ गुमाइरहेका छन्। यसले बाढीलगायतका जोखिम थप बढाइरहेको छ।
डा. कुकका अनुसार पछिल्ला वर्षहरूमा भारत, स्विट्जरल्यान्ड र इटालीमा पनि हिमनदी भत्किँदा बाढी तथा पहिरो जाने यस्तै घटना भएका छन्।
सन् २०२१ मा भारतको उत्तरी राज्य उत्तराखण्डको चमोली उपत्यकामा हिमालयको ठूलो हिमनदीको हिस्सा भत्किएको थियो।
त्यसपछि पानी र मलबेको ठूलो बहाव आएको थियो, जसमा करिब २०० जनाको मृत्यु भएको थियो। वैज्ञानिकहरूले पछि उक्त हिमनदी भत्किँदाको प्रभाव १५ वटा परमाणु बम विस्फोटबाट उत्पन्न ऊर्जासँग तुलनायोग्य रहेको अनुमान गरेका थिए।
नेपालमा पनि गत वर्ष यही क्षेत्रतर्फ तिब्बतमा रहेको हिमताल फुटेपछि बाढी आएको थियो।
आईसीआईएमओडीका क्रायोस्फियर अर्थात् पृथ्वीका हिउँ तथा बरफले ढाकिएका भागका विशेषज्ञ मोहम्मद फारुक आजमले हिमनदी, हिमताल तथा अन्य जमेको भूभागसँग सम्बन्धित विपद् बढ्दै गएको बताएका छन्।
उनका अनुसार यस्ता घटनाको बढ्दो आवृत्ति अहिले विगतको तुलनामा स्पष्ट रूपमा देखिन थालेको छ। परिवर्तनको गति यति तीव्र छ कि अहिले भइरहेका प्रयासले त्यसलाई पछ्याउन समेत कठिन भइरहेको उनको भनाइ छ।
जलवायु परिवर्तनले हिमाली क्षेत्र अस्थिर बनाउँदै
कुनै एउटा मात्र घटनाको प्रत्यक्ष कारण जलवायु परिवर्तन हो भनेर ठोकुवा गर्न कठिन हुने डा. कुक बताउँछन्। तर यस्ता घटनाको समग्र प्रवृत्ति हेर्दा जलवायु परिवर्तनले प्रभाव पारेको हुन सक्ने उनको भनाइ छ।
उनका अनुसार पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमनदीहरू खुम्चिँदै जान्छन् र हिउँ पग्लिने क्रम बढ्छ। त्यस्तै, शताब्दीयौंदेखि जमेको पर्माफ्रोस्ट पग्लिँदा पहाडका भिरालो भागलाई समातेर राख्ने प्राकृतिक संरचना कमजोर हुँदै जान्छ।
उनी भन्छन् ‘त्यसैले थप पहिरो, लेदोको बहाव, हिमनदीबाट निस्कने पग्लिएको पानी, हिमताल फुट्ने घटना र हिमनदी भत्किने घटना देखिन सक्छन्। अन्ततः जलवायु तापक्रम वृद्धिले उच्च हिमाली क्षेत्रको वातावरणलाई अस्थिर बनाउँछ,’ डा. कुकले भनेका छन्।