काठमाडौँ । सरकारले भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाहरूका सुरूङमा फसेका श्रमिक कर्मचारीको उद्धार गर्न विदेशी टोली पनि परिचालन गरेको छ।
केही दिनअघिसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर खोजी तथा उद्धार गरिरहेकामा आइतबारबाट भारतीय र चिनियाँ उद्धारकर्मीको टोली पनि खटिएको हो।
पछिल्लो समय रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाभित्र थुनिएर बसेकाहरूको उद्धारमा सुरक्षा निकाय केन्द्रित छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले आइतबार चारवटा जलविद्युत आयोजनाका सुरूङबाट उद्धारको प्रयास भइरहेको जानकारी दिए।
अहिले जलविद्युत आयोजनाभित्र उद्धारमा जान थुनिएको सुरूङ खोल्ने काम भइरहेको छ। चारवटामा खोजीको काम भइरहेको छ, उनले भने।
प्रवक्ता बस्नेतका अनुसार त्रिशूली-३ ए मा नेपाली सेनासहित ९३ जनाको टोली खटिएको छ भने माथिल्लो त्रिशूली-१ मा चिनियाँ टोली र नेपाली सेना उद्धारका लागि खटिएका छन्।
चिलिमे जलविद्युत आयोजनामा भने भारतीय उद्धार टोली र नेपाली सेनाको टोली खटिएका छन्।
शनिबार ५ जना र आइतबार थप ४ जना चिनियाँ उद्धारकर्मी नेपाल आइपुगेका हुन्। उनीहरू केरूङ क्षेत्रबाट रसुवास्थित बाढी प्रभावित क्षेत्र पुगेका छन्।
भारतबाट शुक्रबार नै ५ सदस्यीय सुरूङ उद्धार टोली घटनास्थल रेकी गर्न आइपुगेको थियो। शनिबार फेरि १३ सदस्यीय भारतीय सुरूङ उद्धार टोली काठमाडौं आएर प्रभावित क्षेत्र पुगेको छ।
माथिल्लो त्रिशूली-३ बी मा १२२ जना, माथिल्लो त्रिशूली–३ ए मा ४२ जना र चिलिमे ८ जना हुनसक्ने आशंका छ। त्रिशुली-३ बी बाट यसअघि ११ जनाको उद्धार भइसकेको छ।
माथिल्लो त्रिशूली-१ मा ५७६ जनामध्ये अहिलेसम्म २५४ जनाको उद्धार भएको छ। ३०० जना सुरूङमा फसेको आशंका छ।