मंगलवार, आश्विन १३ गते २०८३

जलविद्युत आयोजनाका ८९८ कर्मचारी तथा मजदुर अझै उद्धारको पर्खाइमा

आइतवार , भाद्र १४, २०८३

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा फसेकामध्ये अझै ८९८ जना मजदुर तथा कर्मचारीहरू उद्धारको पर्खाइमा रहेका छन् । शनिबारसम्म विभिन्न आयोजनाबाट ३६४ जनाको जीवितै उद्धार गरिएपनि अझै सयौँ मजदुर तथा कामदार उद्धारको पर्खाइमा रहेका हुन् ।

उद्धारको पर्खाइमा रहेकामध्ये २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ भित्र मात्रै ५७६ जना छन् । यस आयोजनाबाट हालसम्म २५४ जनाको मात्रै उद्धार भएको छ ।

हालसम्म पावर हाउस साइड कर्मचारी तथा मजदुरको मात्रै उद्धार भएको यस आयोजनाका जनरल म्यानेजर गिरीराज अधिकारीले जानकारी दिए । उनले भने, ‘सेनाले उद्धार गरेकाहरू सबै पावर हाउस साइडका हुन् । सुरुङ भित्र फसेकाहरूको अझै उद्धार हुन सकेको छैन ।’

शनिबारदेखि यस आयोजनामा उद्धारको प्रयास गरिएपनि हालसम्म नतिजा हात पार्न नसकिएको उनले दुखेसो पोखे । यो आयोजनाको सुरुङ १० किलोमिटर लामो रहेको उनले जानकारी दिए ।

त्यस्तै, ३७ मेगावाटको माथिल्लो त्रिशूली– ३ बी मा १२२ जना सम्पर्कविहीन भएकोमा ९१ जनाको जीवितै उद्धार गरिएको छ ।  अन्यको उद्धार हुन सकेको छैन ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा ६० जना सम्पर्कविहीन भएकोमा १९ जनाको उद्धार गरिएको छ । यस आयोजनाबाट १८ जनालाई सेनाले जीवितै उद्धार गरेको थियो भने एक जना आफै सम्पर्कमा आएका थिए ।

सेनाले उद्धार गरेकाहरू भने सुरुङभित्र फसेका भने नभएको लाङटाङ आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले जानकारी दिए ।

उनका अनुसार यो आयोजनामा सम्पर्कविहीन भएकामध्ये २५ जना सुरुङभित्र काम गरिरहेका श्रमिक हुन् भने बाँकी अन्य काममा संलग्न थिए । सुरुङ भित्र तत्काल रेक्स्क्यू गर्न सक्ने अवस्था हुँदाहुँदै आजसम्म आयोजनामा फसेकाहरूको उद्धार हुन नसकेको उनले गुनासो गरे ।

‘हामीले तत्कालै रेस्क्यू गर्न खोजेको हो । आफै जान नसक्ने हुँदा हेलिकप्टर मार्फत उद्धारको प्रयास गरेका थियौँ’ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘तर, हामीले हेलिकप्टर पाएनौँ । नेपाली सेनालाई पटक(पटक भन्दा सहयोग पाएनौँ ।’

यहाँ अझै पनि आयोजना बाहिर सेनाको हेलिकप्टर उड्ने बाहेकको अन्य प्रयास नगरिएको उनले गुनासो गरे । चिलिमे जलविद्युत आयोजना नजिकै रहेको यस आयोजनाको सुरुङ भित्र अझै ४१ जना फसेको उनले जानकारी दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्ख्या इप्पानका अनुसार रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन् भने माथिल्लो त्रिशूली–३ए मा ४२ जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार