मंगलवार, आश्विन १३ गते २०८३

बाढीपीडितका लागि फ्यानक्यानले गर्यो १ लाख ७५ हजार सहयोग

सोमवार , भाद्र १५, २०८३

काठमाडौं ।  नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्युटिकल तथा कस्मास्युटिकल समाज (फ्यानक्यान) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

फ्यानक्यानले उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको हो। बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिए।

अध्यक्ष मानन्धरका अनुसार विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक भएकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।

फ्यानक्यानले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बाढीका कारण विस्थापित भएका परिवारलाई आवश्यक राहत, स्वास्थ्य सेवा र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवालालाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका बस्ती प्रभावित भएका छन् भने ठूलो संख्यामा नागरिक प्रभावित तथा बेपत्ता भएको जनाइएको छ। सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको आवश्यकता थप बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार