सोमवार, आश्विन १२ गते २०८३

बाढी प्रभावित सडक – कुन खुल्यो? कुन मर्मत हुँदैछ ?

मंगलवार , भाद्र १६, २०८३


नुवाकोट । भोटेकोशी बाढीले क्षति पुर्‍याएको रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालको सफाइ तथा पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सडक सञ्चालनको कामलाई पनि प्राथमिकता दिइएको हो । 

कतिपय स्थानमा बाढीले बगाएको सडक नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने केही स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरेर सवारी सञ्चालनको तयारीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू जुटेका छन् । बाढीले सबैभन्दा धेरै क्षति रसुवा र नुवाकोटमा पुर्‍याएको छ । त्यसबाहेक धादिङमा पनि केही क्षति पुर्‍याएको छ ।  

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीले क्षति पुर्‍याएको गल्छी–देवीघाट सडक खण्डको ठुलो खोला पुल मर्मत कार्य भइरहेको छ । एक दुई दिनमै उक्त पुलबाट सवारी चलाउने मिल्नेगरी काम भइरहेको छ । 

त्यस्तै तादी खोलामा रहेको पुल बगाएर अवरुद्ध भएको सडकमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । त्रिशूलीको ढुङ्गेबजार क्षेत्रबाट रसुवा जाने सडक मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ । मुख्य मार्ग अवरुद्ध भएपछि त्यसको विकल्पका रूपमा वैकल्पिक सडक पनि सञ्चालनमा ल्याइएको छ । बाहुनबेँसी–लाच्याङ्ग–धुन्चे सडकमा साना सवारी सञ्चालनमा रहेको छ । ठुला सवारी सञ्चालन हुने गरी सडक मर्मतको काम पनि भइरहेको छ। 

नुवाकोटको ढिकुरे–फेदीबेँसी–चोखते, बोरे भन्ज्याङ–ढुङ्गेधारा हुँदै वेत्रावती रसुवा जाने बाटोमा पनि साना सवारी सञ्चालनमा छन् । उक्त सडकबाट पनि ठुला सवारी गुड्न मिल्ने गरी काम भइरहेको छ । वैकल्पिक सडकका रूपमा चोगाते–बोरेभन्ज्याङ–विदुर सडकखण्डमा पनि सवारी सञ्चालन गर्न सकिने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

कोलोनी बुद्धसिंहघाट जाने सडक पनि सुचारु भइसकेको छ । लबडाँडा–सिरखाली–बुनीबेँसी–कालीखोला–माझीगाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको छ । कोलोनी ढुङ्गेलगायत ठाउँमा तुइन सञ्चालन गर्न लठ्ठा ल्याइसकेको तथा विशेषज्ञ टोलीमार्फत उपयुक्त स्थानको खोजी गरेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ । 

त्यस्तै त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूली पारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको जानकारी अनुसार गल्छी–त्रिशूली राजमार्ग अन्तर्गत त्रिशूली पुल पारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

धादिङमा पनि बाढीले फुर्केखोलाको पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसँगको सम्पर्क विच्छेद भएको छ । त्यसको विकल्पमा मासटार–क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । फुर्केखोलामा तत्काल बेलिब्रिज राख्न कठिन हुने देखिएपछि यही सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार