मंगलवार, आश्विन १३ गते २०८३

रसुवागढी जलविद्युतमा अझै पुग्न सकेन उद्धार उपकरण

शुक्रवार , भाद्र १९, २०८३

काठमाडौँ । करिब १२ जना भित्रै फसेको आशंका गरिएको रसुवागढी जलविद्युत आयोजनामा आज पनि सबै उद्धार सामग्री पुग्न नसकेको आयोजनाले जनाएको छ।

रसुवागढी हाइड्रोपावर कम्पनीका सम्पर्कविहीन ९३ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना सम्पर्कविहीन छन्।

विद्युत गृहभित्र रहेका कर्मचारीको उद्धारका लागि विद्युत गृहको सुरुङभित्र रहेको लेदो तथा मलबे हटाउन आवश्यक मिनी एक्स्काभेटर, ३० केभिए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइपलगायत सामग्री भदौ १७ गते नै धुन्चे हुँदै आयोजनास्थल पुर्‍याउन नुवाकोटको मैथली आर्मी क्याम्प बट्टारमा प्याक गरिएको थियो।

तर, नेपाली सेनाको उद्धार टोलीले विद्युत्गृहमा लैजान रेकी गर्दा विद्युत्गृह अगाडिको स्थानमा नदीले थप कटान गरेको र उपकरणसहितको ठूलो हेलिकप्टर ९आर्मीको एमआई–१७० अवतरण गर्न नसक्ने जानकारी गराएको थियो।

त्यसपछि सानो क्षमताको कम तौलको जेनेरेटर खरिद गरी मिनी एक्स्काभेटर र ठूलो डिजेल जेनेरेटरबाहेकका सामग्री पठाउन पहल गरिएको थियो।

तर, हिजो दिनभर र आज बिहान १०:५० बजेसम्म पनि मौसम बिग्रिएकाले ती सामग्री धुन्चे पठाउन नसकिएको कम्पनीले जनाएको छ।

विद्युत गृहभन्दा बाहिरबाट सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि कम्पनीले नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बरमार्फत घट्टेखोला क्याम्प र सो क्षेत्रमाथि ग्राउन्ड सर्च गर्ने गरी भदौ १८ गते हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार