सोमवार, आश्विन १२ गते २०८३

फर्किन थाले सुरुङभित्र उद्धार गर्न आएका विदेशी टोली,खोजी भने जारी

सोमवार , भाद्र २९, २०८३

काठमाडौं । भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थालेका छन।

केहि मुलुकका उद्धार टोली फिर्ता भए पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।

जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनियाँ, कोरियाली र संयुक्त अरब इमिरेट्स (युएई) का टोली फिर्ता भएका हुन् ।

नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका १३ र भारतीय टोलीका ११ गरी २४ जना खोजीमा खटिएका छन् ।

सुरुङभित्र करिब ७० मिटर गेग्य्रान हटाउने काम भइरहेको छ ।

उक्त टनेलसम्म भारी उपकरण पुर्‍याउन नेपाली सेनाले चट्टानी भूभागमा ‘ब्लास्टिङ’ गरी पहुँचमार्ग तयार गरेको छ । उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ ।

बाढीले क्षति पुर्‍याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन् । सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ ।

हाकुबेँसीस्थित अडिट–१ मा नेपाली सेना र अस्ट्रेलियाली गरी १६ जनाको उद्धार टोली परिचालित छ ।

त्यसै गरी २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका ३५ जनाले खोजी जारी राखेका छन् ।

निकासमार्गतर्फ जाने करिब १० मिटर लामो, तीन फिट चौडा र चार फिट अग्लो प्रवेशद्वारमा माटो तथा ठुला चट्टान भेटिएपछि हटाउने काम भइरहेको छ ।

सुरुङभित्र हालसम्म कोही फेला नपरेको जनाइएको छ । ६० मेगावाटको त्रिशूली–३ ‘ए’ आयोजनामा सेनाका ३३, नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका १० जनाको टोली परिचालित छ ।

अविरल वर्षाका कारण पावर हाउस प्रवेश गर्ने सुरुङको मुख पहिरोले पुरिएपछि खोल्ने प्रयास भइरहेको जनाइएको छ ।

३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ९८ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना खोजीमा छन् । आयोजनाको आवासगृह क्षेत्रमा गहिराइसम्म उत्खनन भइरहेको छ ।

नदीको सतह समुद्री सतहबाट ६५३ मिटरमा रहे पनि ६५१ मिटर गहिराइसम्म उत्खनन गर्दा भवनको संरचना फेला नपरेको जनाइएको छ ।

१२० मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाका पाँच र अस्ट्रेलियाली डार्ट टोलीका चार गरी नौ जना खोजीमा छन् ।

सुरुङमा भारी उपकरण आवश्यक भए पनि भौगोलिक अवस्थाका कारण पुर्‍याउन कठिनाइ भएको छ । आयोजनाको पावर हाउस, ‘ट्रान्सफर्मर रुम’ र ‘कन्ट्रोल प्वाइन्ट’ सम्म संयुक्त टोली पुगिसकेको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार