बागमती । जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर प्रशासनले जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वमा सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी सहितको टोलीले कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशयको स्थलगत अवलोकनसहित सरोकारवासँग छलफल गरी सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।
प्रजिअ अधिकारीले कुलेखानी जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउत, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, सम्बन्धित प्राविधिक एवम् अधिकारीसँग स्थलगत रुपमा नै जानकारी लिएका थिए ।
निरीक्षण एवम् छलफलका क्रममा उनले कुलेखानी जलाशय क्षेत्रका साथै यसले प्रत्यक्ष प्रभाव पार्ने स्थानमा सतर्क भएर बस्नुपर्नेमा जोड दिए । भारी वर्षाका कारण जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्थामा जलप्रपवाह हुने तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी आवश्यक व्यवस्था मिलाउन उनले निर्देशन दिए ।
यसअघि २०८१ सालमा जलाशय भरिएर एक्कासि बाँधको ढोका खोलिँदा भएको क्षतिबाट पाठ सिक्दै सम्भाव्य जोखिमलाई दृष्टिगत गरी समयमा नै मानवीय एवम् भौतिक क्षति नहुनेगरी उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले आग्रह गरे ।