सोमवार, आश्विन १२ गते २०८३

बिदामा उपत्यका नछाड्न सशस्त्र प्रहरीलाई निर्देशन,ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अवस्थामा

बिहिवार , आश्विन ८, २०८३

काठमाडौं ।सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।


मौसममा देखिएको प्रतिकूल अवस्थाका कारण विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति जुनसुकै बेला परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई उपत्यका बाहिर नजान निर्देशन दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।


प्रधान कार्यालयले स्ट्यान्डबाई ड्युटीमा नरहेका कर्मचारीलाई समेत सार्वजनिक बिदाका दिनमा उपत्यका नछाड्न र आवश्यकताअनुसार बोलाइएको अवस्थामा तत्काल कार्यालयमा उपस्थित हुने गरी सम्पर्कमा रहन निर्देशन दिएको हो ।


सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले सम्भावित विपद् प्रतिकार्यका लागि प्रधान कार्यालयमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको जानकारी दिए।


“हालको मौसमलाई मध्यनजर गरी प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्वजनिक बिदामा समेत उपत्यका नछाड्न र बोलाएको अवस्थामा तुरुन्त हाजिर हुने गरी सम्पर्कमा रहन निर्देशन दिइएको छ,” उनले भने।


सम्भावित बाढी, पहिरो, डुबानलगायतका विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि केही दिनसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै सुरक्षा निकायले सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य क्षमता बढाएका छन् ।

सशस्त्र प्रहरीले प्रभावित हुन सक्ने क्षेत्रको अवस्थाबारे निरन्तर सूचना सङ्कलन तथा आवश्यक जनशक्ति र उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार