काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानीय तहहरूका लागि भारी वर्षा सम्बन्धी प्रभावमा आधारित विशेष मौसम पूर्वानुमान जारी गरेको छ।
उक्त पूर्वानुमान असोज ९ गतेदेखि असोज १२ गते बिहानसम्म लागू हुने जनाइएको छ। विभागका अनुसार कैलालीका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिकामा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी कञ्चनपुरका लालझाडी गाउँपालिका र शुक्लाफाँटा तथा पुनर्वास नगरपालिका पनि प्रभावमा आधारित सतर्कता क्षेत्रभित्र परेका छन्।
उक्त अवधिमा तीव्र वर्षाका कारण पहिरो, नदी तथा खोलामा बाढी, कटान र डुबानको जोखिम उच्च रहने सम्भावना छ। सम्बन्धित स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा बासिन्दाहरूलाई पूर्वतयारी अपनाउन र आवश्यक सतर्कता पाल्न आग्रह गरिएको छ।