काठमाडौं। नेकपा एमालेको केन्द्रीय सदस्य सुर्य थापाले नेकपा माओवादी अध्यक्ष प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन्। उनले प्रचण्डले युवाहरुलाई आत्महत्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन गरेको आरोप लगाएका हुन्।
अध्यक्ष प्रचण्डले विहीवार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको भन्दै सबै आत्महत्या गलत नहुने बताएका थिए।
प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्महत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुख थापाले आपत्ती जनाएका हुन्। थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भनेका छन्। थापाले भने, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो। हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्तत: आत्महत्या बाहेक अर्को हुन सक्दैन।’